साथीको डायरी


उ धेरै नै टोलाउन थालेको थियो, उसमा न उमङ्ग थियो न तरङ्ग। चापी बाट चल्ने खेलौना जस्तो भएको थियो उ , चलि त रहेको थियो तर स्वइच्छाले होइन। उ कसै संग चुपचाप प्रेममा परेको मलाइ थाहा थियो, उसले धेरै पटक भन्न खोजेझैँ गरेर बिचैमा रोकिएको पनि थियो तर म बुझ्थे उसको मनको कुरा। उ मेरो साथी।  

पृष्ठभुमीमा सानो आवाजमा पिङ्क फ्लोइडको विस यु वेयर हेयर  बजिरहेको थियो, अनि हातमा कर्णाली ब्लुज। पश्चिमी संगीत र पूर्वीय साहित्यको संगम स्थल बनेको थियो त्यतिबेला मेरो कोठा। लेखकलाइ राम्रो लेखेकोमा धन्यवाद अनि आफूलाइ ढिलो पढेकोमा गाली पनि दिए,  पिङ्क फ्लोइडको त के कुरा गर्नु र।

यतिकैमा फोनमा कसैको म्यासेज आयो, हेरेँ उसैको रैछ, पढें, ज्यान एक्कासी लुलो भएर आयो, आत्माले एकाएक सरिर छोडे जस्तो। म्यासेजमा लेखिएको थियो "म मरें भने के गर्छौ, मेरा अधुरा काम पुरा गर्दिन्छौ?" हत्तपत्त एउटा म्यासेजमा गाली, माया अनि सहानुभुति सबै एकै चोटीमा पठाएँ। एकैछिनमा अर्को म्यासेज "मैले म मर्न जाँदै छु भने र?", एकछिन केहि सोच्न नपाउदै फेरी अर्को म्यासेज आयो "मर्ने त सबै हो, कति सपनाहरु अधुरो रहन्छन् , कसैलाइ केहि भन्न मन लागेको हुन्छ, मनमा गाडेका कुराहरु पोख्न नपाउदै मर्ने हो कि भन्ने डर लाग्छ।"


त्यो रात मेरो जीवनको सबै भन्दा लामो रात बन्न पुग्यो, बेला बेलामा नकारात्मक सोंचहरुले घोच्ने गर्थे, म भने मेरो साथी त्यति पनि कमजोर छैन भन्दै आफैले आफैलाइ आश्वासन दिने गर्थें। काठमाडौँको चिसो बिहानी, बाइक कुदाउदै म उसको कोठा सम्म पुगे। कोठा छिर्ने बितिकै नजर उ तिर पुग्यो, म ढुक्क भएँ।  उ सोफामा यसरि सुतिरहेको थियो कि मानौ उ एउटा बच्चा हो अनि घन्टौ आमासंग झगडा गरेर भर्खरै उनैको काखमा निदाएको हो। काम गर्ने भाइ म भन्दा अघि पुघी सकेको रैछ, मैले केहि बोल्नु अगावै उसले चिन्तित मुद्रामा भन्यो "रात भरि सुत्नु भएन रे, म आउँदा  टाउको फुट्ला जस्तो भयो भन्दै हुनुहुन्थ्यो, नजिकको मेडिकल खुल्ला रैनछ, चोक पुगेर पेन किलर ल्याएर दिएँ, आधा घण्टा जति भयो सुत्नु भएको।" मलाइ पनि त रात भरिको छटपटाहटले गर्दा अलि अलि टाउको दुखेको थियो। भाइ एक कप कालो चिया बनाइदेउन भन्दै म उसको कोठा तिर छिरे। कुर्सिमा बस्ने बेला आँखा खाटमा भएको उसको डायरी तिर गयो, बाहिरबाट हेर्दा चिटिक्क परेको, बच्चा हुँदा हामीले नयाँ कापी र किताबमा गाता हालेर चिटिक्क पारेको जस्तो। 
म धर्म संकटमा परे, उ छिटै उठ्ने वाला पनि त छैन र यो डायरी भित्र सायद मैले खोजेका धेरै प्रश्नहरुको उत्तर पाउँछु जस्तो लग्यो। मैले सिमाना नाघेर उसको व्यक्तिगत संसारमा पस्ने निर्णय गरे। 



आज,    

म मिति लेख्न जरुरि ठान्दिन, मिति लेख्नुको अर्थ त्यो दिन वा त्यो बार मैले यो देखे वा त्यो भोगे भनेर जनाउनु हो जस्तो लाग्छ। तर म जे लेख्न गइरहेको छु त्यो म रोज भोग्ने गर्छु , हिजो, आज र सायद भोलि पनि।  

उसले दिएन मैले मागिन, उसले खोस्यो मैले ठिकै छ लैजा भने, म जीन्दगीको कुरा गर्दै छु, मैले उ बाट त्यति धेरै आश गरेको पनि थिएन तर जब तिमीसंग भेट भयो मैले माग्न थालेँ। तिमी संग अझ केहि पल, बेमौसमी वर्षा, सिसिरमा न्यानोपन, कहिले लामो रात अनि धेरै जसो घुम्तीमा तिमी। मैले आफ्नै सिद्धान्त टोढेको थिएँ , सायद त्यहि नै प्रेम हुनुपर्छ , न कुनै नियम न कुनै सर्त। म स्वार्थी भएँ कि जस्तो पनि लाग्यो तर होइन रहेछ, जुन दिन मैले तिम्रा आँखामा आँसु देखे त्यो दिन म आफू हरेको अनुभव गरें, यस्तो हार जुन मैले पहिले कहिले भोगेको थिएन। जब समयले  तिमीलाइ म देखि टाढा लग्यो मैले ठिकै छ लैजा न त भन्न बिर्सीसकेको रहेछु.  


आज म फेरी हारेको अनुभव गर्दै छु, जीन्दगी देखि, आफै देखि । म लड्थे उठाउन तिमी हुन्थ्यौ, म तिम्रा लागि उठ्थे। अब तिमी हुदैनौ, म मा हिम्मत हुदैन अनि सायद मान्छेले मलाइ उपनाम दिनेछन "प्रेममा हारेको मान्छे"। उनिहरुका लागि म प्रेममा हारेको मान्छे हुने छु, आफ्नो लागि म तिमी गुमाएको मान्छे, आफ्नो मान्छे गुमाएको मान्छे। 


खसेको तारा जो आफैमा हार्दै  छ, उसले के अरुले मागेको पुरा गर्छ होला जस्तो लाग्थ्यो, अचेल हरेक रात कौसीमा बित्छ त्यहि खसेको ताराको खोजिमा। आशा भन्ने कुरा पनि कति बलियो हुने रैछ म अहिले बुझ्दै छु। जब प्रयास पर्याप्त हुदैनन् तब आशहरु झन् हुर्किने रैछन।


म तिम्रो र मेरो बारे खुलस्थ हुन चाहन्थे सबै संग तर उनीहरुको समस्या के छ भने उनीहरु नहार्नु, आश नमार्नु भन्छन, जब आशहरु हुर्कदै र सप्रदै जान्छन उनीहरु ह्या भो छोड्दे भन्न थाल्छन्। प्रेममा खुसि हुदा मात्यो भन्छन अनि दुखि हुदा देवदासको उपाधि दिन सम्म भ्याउँछन। 


-तिमीले दिएको नाम  

म त्यति भावुक पनि होइन तर बिचमा कतै आँखा रसाए छन्  । ती शब्दहरु भारि थिए, उसले कतै माया मुसेको थियो त कतै त्यहि माया गर्ने मान्छे गुमाएको दुख।  उसले आधि भन्दा बढी लेखिसकेको रहेछ त्यो डायरी तर मैले आफूले खोजेको कुरा भेटि सकेको थिए। त्यो डायरी मैले त्यहिं राखीदिए जस्तो थियो उस्तै मिलाएर। चिसो चियाको कप लिएर म उ सुतिरहेको कोठामा गए। रातभरको छटपटाहट देखि उ धेरै टाढा थियो, गहिरो निद्रामा, मानौं उ त्यतिकै रहन चाहन्छ।  उ मेरो साथी। 

0 Comentarios