पेरिसको कथा





ओए !!
किस गरिस?
त्याँ आइफेल टावर अगाडि त पुरै खुलेआम किस हुन्छ रे नि, हाम्रो गोदावरी भन्दा पनि खतरा!!
ओए!
ओए साले...
साले केटि पाएर साथीलाई भुलिस्?
-सेन्ट फोर आवर अगो


सरोजले नेपालबाट लेखेको रैछ।

हरेक फ्रेन्ड सर्कलमा हुन्छ नि त्यो एकजना जो प्रेमगुरु हुन्छ, उपदेश बाँढ्दै हिड्छ तर आफै सिंगल हुन्छ, सरोज त्यै हो हाम्रो ग्रुपमा। मैले अन्जलीको बारेमा भने देखि ऊ यस्तै यस्तै प्रश्नहरु गर्ने गर्थ्यो।

केहि महिना अघि बेल्जियममा आर्ट पढ्दै गरेको एकजना साथीले मलाई फ्रान्सको राजधानी पेरिसमा हुन लागेको एउटा फोटो प्रदर्शनीको लिंक पठाएको थियो। उक्त प्रदर्शनीको नाम les gens à travers le monde थियो, अर्थात नेपालीमा "संसार वरपरका अनुहारहरु।" आयोजकले हरेक बर्ष भिन्न शिर्षकमा विश्व वरपरबाट फोटो संकलन गरेर प्रदर्शनी गर्ने गरेका रहेछन्। फ्रेन्च पढ्न नजाने पनि अलिअलि बुझाईको भरमा मैले फारम भरेँ। मैले मनाङ्ग यात्राका केहि पोर्ट्रेटहरु पठाएको थिएँ।

फोटो पठाइसकेपछि म आफ्नै काममा व्यस्त थिएँ, एकदिन कामबाट घर फर्किएर इमेल हेर्दा फ्रान्सबाट त्यही आयोजकले मेल गरेको रहेछ। बधाईबाट सुरु गरेको त्यो इमेलको वीचको अंशमा मैले पठाएको ८ मध्ये ५ वटा फोटो छानिएको जानकारी थियो, अन्तिम तिर फेरि केहि दिन भित्र नै अर्को इमेल गर्नें भनेर बिदा मागिएको थियो। लाग्यो पक्कै पनि एउटा प्रमाणपत्र पठाउँछन्। यदि कुनैदिन विदेशी विश्वविद्यालयमा मास्टर्स पढ्न जाने सोँच आयो भने काम लाग्ने छ तर तत्काललाई मेरो त्यस्तो कुनै सोँच थिएन। प्रमाणपत्रसँग सायद पेरिसको केहि चिनो आउन सक्छ वा धेरै भयो भने अलिअलि पैसा। 

त्यसको ठ्याक्कै एक हफ्तामा फेरि अर्को इमेल आयो। मैले जे पढेँ त्यो विश्वास लागेन र दोहोर्याएर पढेँ, त्यहि लेखिएको रैछ जे मैले पहिलो पटकमै पढेको थिएँ। सुरुका दुई लाइन सन्चो बिसन्चो अनि तेश्रो लाइनमा सोधिएको थियो "के तिमीसँग ट्राभल डकुमेन्ट तयार छ?" फोटो पठाउने बेला जुन फर्म भरेको थिएँ त्यसमा यी सबै कुरा लेखिएका रैछन, आफूले बुझे पो त। जीवनमा कहिले नसोचेको भैदियो तर जे भयो ठिक भयो। प्रदर्शनी १५ दिन सम्म चल्ने रहेछ र १८ दिनको लागि होटल अनि खानाको व्यवस्था अनि आउने-जाने प्लेनको टिकट आयजोकलेनै दिने रहेछन्। क्याननको ७०-२०० यमयम लेन्स किन्न पैसा जम्मा गरेको थिएँ, लेन्स त पछि पनि किनिन्छ तर यस्तो मौका कहिले आउने हो। फेरि उता त्यति धेरै खर्च पनि हुने हैन। 



काठमाडौँ देखि पेरिसको यात्रा, कतारमा ट्रान्जिट थियो। रातीको लामो ट्रान्जिट, एयरपोर्टमा चहलपहल पातलिएको थियो, निदाए बिहान फ्लाइट छुट्ने हो कि भन्ने डर, पहिलो विदेश यात्रा। कफीको तलतल लाग्यो, आखिर रात आँखा बन्द नगरी बिताउनु थियो। सूचना डेस्कमा सोधेँ, नजिकैको स्टारबक्समा पुगेँ। काउण्टरमा दुईजना भारतीय नागरिकहरु के पिउने भन्नेमा धेरै गन्थन गर्दै थिए। अर्डर लिने केटीलाई झिँजो लागेछ क्यारे, म तिर हेरी। मैले काँध र ओँठले "भगवान जानुन्" को भाव व्यक्त गरेँ, ऊ मुसुक्क हाँसी। मेरो पालो आयो, मैले हतार नगरी अमेरिकानो अर्डर गरेँ, अलि कडा बनाउन है भनेँ, उसले हुन्छ भनि। कपमा नाम लेख्नका लागि उसले नाम सोधी, “प्रान्जल”, मैले जवाफ फर्काएँ। म भन्दा पछाडी कोहि थिएन त्यसैले होला ऊ म सँग बोल्न थाली। उसले कहाँ जान लागेको भनेर सोध्दा मैले पेरिस भनेँ, उसले एकै शब्दमा प्रतिक्रिया दिई, "वाउ।" कहाँबाट आएको भन्ने उसको प्रश्नमा मैले बिदेशी लवजमा भन्दिएँ "नेपोल"। त्यो सुन्नासाथ उसले अलि पर कुनामा बसिरहेकी एकजना केटीलाई देखाउँदै भनि "सो यु गाइज मस्ट बि फ्रेन्ड्स"। 
"वाए?"
"सि इज फ्रम नेपाल टु।"



कफी तयार थियो, कपमा नाम लेखिएको थियो "पन्जल", कतै पढेको थिएँ यिनीहरु जानीजानी नाम गलत लेख्छन। हो रैछ। एउटा हातमा कफीको कप अनि अर्को हातले ह्यान्ड लगेज गुडाउँदै म त्यहि नेपाली केटी बसेको टेवल तिर बढें, अहिले जबजब त्यो पल सम्झन्छु पृष्ठभूमिमा भाइलेन अनि सेक्साफोनको संगीत बज्छ तर त्यो बेला पर कतै एयरपोर्टको अनाउन्समेन्ट मात्र बज्दै थियो। 


"नमस्ते"
स्केचबुकमा बलपेनले केहि कोर्दै थिइ ऊ, झसङ्ग भई।
"नमस्ते"
"हजुर नेपाली भन्ने थाहा पाएर आएको। डिस्टर्ब त भएन नि?"
"ए हैन हैन, बस्नुस् न" म उभिएको देखेर उस्ले अगाडीको कुर्सी देखाउदै भनि।
"म प्रान्जल अधिकारी" मैले हात ऊ तिर बढाउदै भनेँ।
"म अन्जली, अन्जली कार्की" यति भन्दै उसले हात मिलाई।
बसेको एकछिन नहुदै मैले सोधीहालेँ, "हजुर आर्टको विद्यार्थी हो?"
"किन? कसरी थाहा पाउनु भयो?"
"जो पायो त्यसैले यस्तो राम्रो स्केच गर्न सक्न पनि पर्यो नि" उस्ले बलपेनले गरि रहेको स्केच साच्चै नै राम्रो थियो।
"नेपाल जादैँ हुनुहुन्छ कि अन्त कतै?"
"म पेरिस जाँदै छु, काठमाडौँ देखि बेलुका उडेको।"
"लौ मैले फ्लाइटमा त कतै देखिन हजुरलाई, म पनि काठमाडौँबाट आएको, पेरिस नै जाँदै छु।"
मैले यो भनि सक्दा उस्को ध्यान भने स्केचमै थियो।
"हजुरलाई डिस्टर्ब त भएको छैन नि? भएको भए भन्नुस है।" 
"लौ किन डिस्टर्ब हुनु नि, मलाई एक्लै हिँड्न साह्रै अफ्टेरो लाग्छ, मैले झन् एयरपोर्ट काउन्टरमा फ्लाइटमा कोहि पेरिस जाने नेपाली हुनुहुन्छ भनेर सोधेको थिएँ , छैन पो भने, हजुर हुनुहुँदो रहेछ त।"
"म एयरपोर्ट ढिलो पुगेको थिएँ त्यहि भएर होला।"
"अनि हजुरले सोध्नु भएन त?"
"के?"
"पेरिस जाने कोहि छ भनेर।"
"मलाई एक्लै हिँड्न मन पर्छ।"
 ऊ मुसुक्क हाँसी। 


ऊ काठमाडौँ विश्वविद्यालयमा फाइन आर्ट्स पढ्दै रैछे, एक्सचेन्ज स्टुडेण्ट भएर एक वर्षका लागि पेरिस जाँदै रैछे। हामी दुवैको क्षेत्र एउटै, रुचि र गफ दुवै मिल्ने रैछ। एक दुई कप कफी पछि हामी टर्मिनलको डिउटी फ्री पसल तिर घुम्यौँ, किन्न भने केहि किनेनौं । हजुरको सिट नम्बर कति? मैले बोर्डिङ्ग पास झिकेर हेरेँ, ४५बि, उस्को ६५ए रैछ। बिहान ७ बजेर ३० मिनेटमा हाम्रो फ्लाइट थियो, हामी सँगै उभिर्यौँ लाइनमा। प्लेन भित्र छिरे पछि ऊ आफ्नो सिटमा गई अनि म आफ्नो सिटमा। प्लेनमा त्यति भिड थिएन, मेरो छेउको सिट खाली नै थियो, उस्लाई बोलाउँ कि झैँ भयो तर बोलाइन। एकछिनमा पछाडी फर्केर हेरेको त ऊ हातको इशाराले मलाई नै बोलाउदै थिई। एयर होस्टेससँग कुरा गरेँ, एकैछिन् पछि उनीहरुले मलाई पछाडीको सिटसम्म लगिदिए।



कतार देखि पेरिससम्मको फ्लाइट करिब ७ घण्टा १५ मिनेटको थियो, अनिद्राले गर्दा होला शरीरले कता कता निद्रा मागीरहेको थियो तर कफीको मात्रा बढि भएर होला निद्रा भने लागेको थिएन। फेरि छेउमा अन्जली थिइ, त्यो समय सुतेर व्यर्थ फाल्न मन लागेन। अघि बोर्डिंगको लाइनमा उभिदासम्म म उस्लाई तपाइ भनेर नै सम्बोधन गरिरहेको थिएँ। उस्लाई अफ़्टेरो लागेछ क्यारे सोधी हाली।

"
हजुरले ब्याचलर पढेर सक्नु भयो हैन?"
"हो किन?"
"उमेर सोध्न अफ्टेरो लाग्यो त्यै भएर, म भर्खर त ब्याचलर पढ्दै छु। मलाई हजुरले तिमी भन्दा हुन्छ के।"
एकै छिनको कुराकानी पछि उसले मैले खिचेको फोटोहरु हेर्ने भन्दै जिद्द गरि। ब्यागबाट आइप्याड झिकेर फोटो एल्वम खोलेर मैले ऊ तिर बढाएँ। करिब ८-१० ओटा फोटो हेरे पछि ऊ एउटा फोटोमा टक्क रोकीइ अनि एकोहोरो हेर्न थाली। फोटोमा मंगलबजार तिर मैले भेटेकी एकजना बुढी आमा थिइन जसको गाला पुरै चाऊरी परेको थियो।


क्या सजिलो छ है फोटोग्राफरलाई? टक्क एउटा बटन थिच्यो अनि सकियो।मलाई एउटा पोर्ट्रेट पेन्ट गर्न महिनौ लाग्छ त्यो पनि कति त बिचमै रोकिन्छन।उसको अनुहारमा अर्कै भाव थियो ठ्याक्कै मेरो तीन बर्षे भान्जी जस्तो, जो बेला बेलामा आफूले चाहेको जस्तो नभएमा आफू रुष्ट छु भनेर दर्शाउने बेला बनाउथी। ऊ रुष्ट थिई किनभने उसलाई त्यो फोटो मन परेको थियो, ऊ ती चाउरी परेका गाला जुम गरिगरि हेर्दै थिई।


म हरेक महिना सयौँ फोटो खिच्छु, तर ती मध्य केवल ४-५ ओटा मात्र मन पर्छन। अनि चित्त नबुझेको फोटो डिलिट गर्नु अघि म एक पटक भन्दा बढी सोच्दिन। तर सायद तिमी त्यस्तो गर्दिनौ होला। पेंटिंग मन परेन भन्दैमा तिमी च्यात्दिनौ होला। कुनै चित्रमा रंग मन परेन भने तिमी सायद त्यो माथी अर्को रंग पोत्छौ होला। तिमीले पेन्ट गरिरहेको पेंटिंग भित्र तिमी सर्वस्स संसार देख्छौ होला, त्यो चित्रमा कोरिएको हरेक धर्कोसँग तिम्रो लगाव हुन्छ होला। ती प्रत्यक रंगहरुका आफ्नै कथा हुन्छन होला। तर मेरो लागि एउटा फोटो फगत फोटो मात्र हो। 

मैले यति भनि सकेर उसलाई हेर्दा ऊ ट्वाल्ल परिरहेको थिइ उसले सोधी "साहित्यकार कि फोटोग्राफर हँ?"
"पन्जल" मैले भनेँ।
ऊ हाँसी।


जहाज पेरिसमा अवतरण भयो, अध्यागमन पार गरेर हामी सामान पर्खिरहेका थियौँ। उसलाई लिन ऊ गइरहेको विश्वविद्यालयमा पढिरहेका एकजान नेपाली लिन आउने कुरा उसले मलाई बताई। मलाई लिन को आउछ भन्ने थाहा थिएन तर कोहि न कोहि पक्कै आउछ भन्ने चाहिँ थाहा थियो।

सामान लिएर बाहिर निस्किदा एक जान फ्रेन्च केटि हातमा मेरो नाम भएको कागज लिएर उभिएकि थिई, अन्जलीले हातमा चिमाट्दै भनि "ऊ हजुरको गर्लफ्रेन्ड।"


उसको नाम उरेली रैछ। हामीले चिना परिचय गर्यौँ। 


हामी तीन जना एकछिन सँगै  उभिर्यौँ तर उसलाई लिने आउने नेपाली देखा परेन, त्यो फ्रेन्च केटिसँग मोबाइल मागेर त्यो नेपाली केटालाई फोन गरेपछि थाहा भयो उसलाई त्यहाँ पुग्न अझै आधा घण्टाभन्दा बढी समय लाग्ने रैछ। समयमा नपुगेर उसले नेपाली हुनुको परिचय दियो

थाहा छ अन्जली, मैले भावुक हुँदै भनेँ, "तिम्रो बोएफ्रेन्डले तिमीलाई धोका दियो नि।" ऊ रिसाए जस्तो गरि तर एकछिनमै मुस्कुराई, उसको मुस्कान झन् झन् बढ्दै थियो। मैले नदेखोस भनेर होला उल्टो पल्टी फर्केर एकैछिन हाँसो लुकाउन खोजि। मलाई लिन आएकी त्यो फ्रेन्च केटिलाई कुराउन पनि भएन, छुटिने बेला भयो। 
"बोञ्जोउर, फेरि कतै भेट होला," मैले अन्जलीको आँखामा नहेरी भनेँ

"भेट त भैहाल्छ नि कतै न कतै, सी यु सुन" उसले भनि यति भन्दा उसका हातहरु एकअर्कामा बाँधिएका थिए, न जाडो महिना, अझ एयरपोर्ट भित्र त ए.सि नै हुन्छ। बाटो भरि उसैको बारे सोँचीरहे, उसलाई लिन आउने मान्छे आइपुग्यो कि पुगेन भनेर। 

 

होटल पुगेर नुहाइ धुवाइ गरेर म सुतेँ साह्रै मीठो निद्रा थियो त्यो। आयोजकले सबै जनालाई रात्रीभोजको लागि निम्तो गरेका थिए, तर रात्रीभोज अघि एकछिन ग्यालरी पुगेर भोलिको उद्घाटनको लागि तयारी गर्न पर्ने थियो। बेलुका पख उठेर म ग्यालरी पुगेँ, आफूले खिचेका तस्विर त्यहाँ झुण्ड्याइएको देख्दा साह्रै खुसि लाग्यो। त्यहाँ पछि हामी सबै रात्रीभोजको लागि निस्कियौं।


भोलिपल्ट, अर्थात प्रदर्शनीको पहिलो दिन कुन लुगा लगाउने भनेर साह्रै अन्योलमा परें। सरोजले एउटा दौरा सुरवाल पनि लग्नु, उद्घाटनको दिन लगाउन पर्छ भनेको थियो, मैले बरु सुट पो लाउने कि भन्दा उसले "सुट त सबैले लगाउछन, तैँले दौरा सुरवाल लगाइस भने सबैको नजर तँ अनि तेरो फोटो माथी पर्छ" भनेको थियो। "मेरो फोटो त्यति नराम्रा छन र मैले अरुको ध्यान तान्न दौरा सुरवाल लगाउन पर्ने?" यति मात्र के भनेको थिएँ सरोज पड्कि हाल्यो। त्यसैको मन राख्दिन भएपनि दौरा सुरवाल लगाउने निर्णय गरेँ। 


पहिलो दिन अलि बिशिष्ट मान्छेहरुको भिड थियो, ती मध्ये धेरै जना नेपाल आएका वा नेपालको कला संस्कृति थाहा भएका पनि रैछन मेरो पहिरन अलि फरक भएकाले पनि होला धेरै जना मसँग बोल्न आए। सरोजको सम्झना आयो, ठिकै भनेको रैछ सालेले। पहिलो दिनको प्रदर्शनी सकेर म सिधै होटल रुममा पुगेँ, दौरा सुरवाल लगाएर यता उता हिँड्न अलि अफ्टेरो लाग्यो। भोलिपल्ट बाट भने साधारण लुगामै जान थालेको थिएँ।   

प्रदर्शनीको तेश्रो दिन थियो, करिब ४ बजेको थियो होला, भिड अलि पातलिएको थियो। यत्तिकैमा एक हुल विद्यार्थी भित्र छिरे, उनीहरु सबैले ब्याग बोकेका थिए अनि कतिको त हातमा किताब पनि थियो। त्यो भिडबाट कसैले हात हल्लायो, चिनेको अनुहार, अन्जली रैछे। ऊ म भए तिर आई, एकदुई जना साथी बटुलेर, चिना जानी गरि अनि फोटो हेर्न थाली। 


पछि पछि लगेर आयौ है? मैले जिस्काएँ !
"अँ, हजुर त पेरिसमा फेमस हुनु हुँदो रैछ, हजुरको नाम मात्र के लिएको थिएँ यहीँ अगाडी ढोकासम्म ल्याएर छोडीदिए!" जवाफ फर्काउनमा ऊ खप्पिस थि। 
युनि (विश्वविद्यालय) बाट ल्याएको हामीलाई, ऊ त्यहीँ त हो हाम्रो युनि। उसले हातले इशारा गर्दै भनि! 
कता? रत्नपार्क देखि भोटाहिटी छिर्ने गल्लि तिर? म जिस्किएँ!

उसले कुम्भले एक धक्का दिई!  
  

एकैछिन् गफ गरेपछि मैले उसलाई कफी पिउन जाने कि भनेर सोधेँ, उसले हुन्छ भनि। उसका साथीहरु निस्कीसकेका थिए! मैले उसलाई एकैछिन् कुर्न भनेँ, आफ्नो काम सकेँ, अनि हामी दुवैजना निस्किर्यौँ। 


प्रदर्शनी रुइ बिहुत भन्ने ठाउँमा भैरहेको थियो, हामी त्यहाँबाट निस्किर्यौँ तर जाने कता थाहा थिएन। शिर थोरै उठाउँदा आइफेल टावरको टुप्पो अलि पर देखियो, मैले उसको अनुहारमा हेरेँ, उसले पनि सायद त्यो देखी होलि, उत्साहित हुँदै उसले त्यतै जाने इशारा गरि। बाटो थाहा थिएन तर कता पुग्ने हो थाहा थियो, हामी त्यहि टुप्पो हेर्दै अघि बढ्न थाल्यौँ। 


पहाडको चुचुरो हेरेर ट्रेकिंग गरे जस्तो भयो त्यो हिडाइ, देख्दा लाग्छ त्यहीं नजिक छ तर जति हिँडे पनि नपुग्ने। अलि बेर हिँडे पछि हामीले बिश्राम लिने निधो गर्यौँ, अलि अघि एउटा क्याफे रैछ

हामी त्यहाँ पुगेर अडिर्यौँ, क्याफे अघि सडकपेटीमा लस्करै टेबल र कुर्सीहरु राखिएका थिए, हरेक टेबलमा अर्किडका फूलहरु सजाइएको थियो, ती टेबलबाट आइफल टावरको माथिल्लो भाग बिना कुनै अवरोध देखिन्थ्यो स्पिकरबाट सानो आवाजमा एउटा गीत बजिरहेको थियो, क्याफेको बाहिरी भित्तामा क्लासिक फ्रेन्च फिल्मका पोस्टरहरु टाँसिएका थिए, पारदर्शी सिसाको ढोका थियो जसको माथि क्याफेको नामसँगै "सिंस १९७२" लेखिएको थियो सिसाबाट भित्र हेर्दा एक ६०-६५ बर्षका बुढा काउन्टरमा देखेँ। ढोका धकलेर भित्र छिर्न खोज्दा ढोकासँगै टाँसिएको घण्टी बज्यो अनि ती बुढाले आफूले  गरिरहेको काम छोडेर हामी तिर हेरे। फ्रान्समा सकेसम्म अंग्रेजी नबोल्नु बरु टुटेफुटे फ्रेन्च बोले हुन्छ भनेर एकजना दाइले सिकाएका थिए।  


काम चलाउ फ्रेन्च अनि इशाराको भरमा अन्जलीलाई एउटा लाटे अनि आफूलाई एउटा अमेरिकानो मगाएँ। बुढा मुसुक्क हाँसे। हामी बाहिरनै बस्यौँ , अन्जलीले हतार हतारमा यस्तो सिट रोजी जहाँबाट आइफल टावर गज्जबले देखिन्थ्यो, बस्ना साथ ऊ हाँसी, मानौँ उसले ठूलै युद्ध जितेकी हो। मैले कृतिम दुख व्यक्त गरेँ ऊ सँग युद्ध हारेकोमा। स्पिकरमा गीत  बजिरहेको थियो, गायक पक्कै पनि वियोगको गीत गाउँदै थिए, बेला बेला चर्को आवाजमा गाउँथे मानौँ ठूलै चोट लागेको छ उनको मनमा। 

अन्जली मौन थिई, टोलाई रहेकी थिई, मैले जिस्काइदिएँ "मन छोए जस्तो छ नि गीतले?" 
"उस्ले पेरिसको तारिफ गर्दै छ" अन्जलीले जवाफ फर्काइ। 
"तिमी फ्रेन्च बुझ्छौ?" मैले सोधेँ। 
"अलि अलि" उसको जवाफ आयो। 

एकैछिनमा बाजेले कफी ल्याइदिए। ऊ आइफल टावरमै टोलाएकी थिई। म बेलाबेला टाउको घुमाएर हेर्ने गर्थेँ। आइफल टावर भन्दा त ऊ नै राम्री थिई। म उसलाई हेरेर टोलाएको थिएँ। हामी २ घण्टा जति त्यहिँ बस्यौँ, कुराकानि पनि टन्नै भयो। कलेज अनि नयाँ साथीहरुको बारेमा धेरै कुरा सुनाई, मोनालिसाको पेंटिंग हेरिसकिछे, पिकासोको संग्रहालय पनि गएँ भन्दै थिई। मसँग सुनाउन खासै केहि थिएन, अस्तिको दौरा सुरवाल वाला कुरा सुनाएँ, ऊ कफी सड्किने गरि हाँसी, खै के रमाइलो लागेछ उसलाई। एकैछिन् पछि होस्टल फर्किन ढिला हुन्छ भन्न थाली, आइफल टावरपनि अस्ताउँदै गरेको घामले गर्दा रातै भएको थियो। हामी हिड्दै फर्कियौँ। उसलाई होस्टल छोडेर म ट्रेनमा होटल फर्किएँ। बिस्तारामा पल्टिएर आँखा बन्द गर्दा अन्जली आई, ऊ सँग बिताएको समय रमाइलो थियो।  

अर्को दिन पनि ऊ ठ्याक्कै ४ बजे तिर ग्यालरी आइपुगी, म केहि फ्रेन्चहरुसँग गफ गरिरहेको थिएँ, उसले हात हल्लाई। मलाई ब्यस्त देखेर ऊ अरु फोटोहरु हेर्न थाली। फ्रेन्चहरु गए पछि म उसलाई खोज्न थालेँ, एउटा अफ्रिकन पोट्रेट अगाडी उभिएकी थिइ.

"एक्स्क्युज्मि आरंट यु अन्जली?" मैले कानमा सानो आवाजमा बोलेँ, ऊ झसङ्ग भई। 
"आइ हेट यु" एउटा आँखीभाउ माथि उचाल्दै रिसाए जस्तो गरि। 
"डराएको?" मैले सोधेँ। 
"हैन कातिकुती लाग्यो के!" यति भन्दै ऊ हाँसी, त्यो पनि कृतिम रिस रैछ।  
"जाउँ फ्रेन्च गीत सुन्न, निस्किने बेला भएन?" घडी हेर्दै सोधी।
"हुन्छ एकछिन, म ब्याग लिएर निस्किन्छु।" म ब्याग लिन दौडिएँ।         

अचम्मको सहर पेरिस, पुराना कलात्मक घरहरु, खोलै खोला, खुला ठाउँ, होँचा घरहरु अनि आइफल टावर  जताबाट पनि देखिने। त्यस्तै एउटा खोलाको छेउमा हामी हिड्दै थियौँ। पर सेक्साफोन बजाउदै एकजना पैसा माग्दै थिए, कोहि दौडीरहेका थिए, जोडीहरु आइफल टावर हेर्दै वाइन पिउँदै थिएँ। बेला बेला पर्यटक बोकेका डुङ्गा आउँथे अनि जान्थे। मन मनै सोँचे सहर होस् त यस्तो। साथमा अन्जली थिई, साथ होस् त यस्तो। ऊ सँगका हरेक गफ मीठो हुन्थ्यो, सुख दुखका कुरा हुँदै थिए, कलाका कुरा हुँदै थिए। ऊ बुझ्नका लागि सुन्थी अनि बुझाउनका लागि बोल्थी। बेलाबेला चिसो हावाले उसको केश उडाउँथ्यो, ऊ दुई औँलाले ती  केश कान माथी थुपारदिन्थी। म हरेक पलको मज्जा लिइरहेको थिएँ। आज पनि उसलाई होस्टल सम्म छोडीदिएँ अनि हिजो जस्तै ट्रेनमा होटल फर्किएँ। 

बेडमा पल्टिएर सोँचीरहेँ, मलाई उसको साथ मनपर्छ, कुरा गर्ने तरिका मन पर्छ, ऊ सँग  समय बिताउन मन पर्छ, उ सँग जिस्कन मन पर्छ। उसलाई पनि सायद मेरो बानीहरु मन पर्छ र त ग्यालरी आइपुग्छे। के ऊ मलाई मन पराउँछे? अझ ठूलो कुरा त के म उसलाई मन पराउने थालेको थिएँ ? यो प्रेमको मामलामा म कच्चो थिएँ । त्यहि भएर सरोजलाई म्यासेज लेखेँ, हतारिदै उताबाट फोन गर्यो, मैले सबै कुरा सुनाएँ । उसको जवाफ आयो "खै फोटो पठा त, हेरुम, कस्ती रैछे।"

दिनहरु त्यसरी नै चलिरहेका थिए, हामीले लगभग आधा पेरिस हिँडेर सकायौँ होला। त्यो पहिलो दिनको कफी पसल हामी धेरै पटक गयौँ, अब त हामीले अर्डर दिनै नपर्ने भयो, हामीलाई देख्यो कि बुढाले दुई औँला जोडी "ओके" भन्थे अनि भित्रैबाट बस्न इशारा गर्थे।। आज पनि अन्जली त्यहि पुरानो सिटमै  थिई। ऊ अगाडी टावरतिर हेर्दै थिई, हातमा बलपेन थियो, स्केच गर्न खोज्दै थिई, त्यो स्केच उसले ३-४ दिन अघि सुरु गरेकोझैँ लाग्छ मलाई तर रित्तोझैँ थियो। उ चाहिने भन्दा बढी टोलाउँथी अहिले पनी टोलाईरहेकै थिई, पेन हावामै आडिएको थियो, मैले उसको नामले उसलाई बोलाएँ, ऊ ठूलै सपनाबाट  बिउँझे जस्तो गरि। 

"के भयो?" तिमी  कति टोलाएको? ठिक छ नि?"
"घरको याद आयो, होमसिक भएँ जस्तो लाग्छ" उसको जवाफ आयो। 
मलाई फिट्टिकै चित्त बुझेन अनि सोधीहालेँ "के तिमीलाई कसैले जबरजस्ती यता पठाएको? आएको २ हफ्ता पनि भएको छैन, अहिले देखि नै यस्तो?" 

ऊ एकछिन मौन बसि, म तिर पनि हेरिन, टाउको झुकाएर तल कागजमा हेरी रही, एकछिन पछि मात्र मेरो आँखामा हेरी, अनि भनि "मैले हजुरलाई सबै कुरा भनेकी छैन, सायद भन्न पर्छ। मलाई पेरिस आउन मन थिएन, मास्टर्स गर्न आउने सोँच थियो, तर यसरि केहि महिनाका लागि होइन। म भागेर आएको भन्दा पनि फरक नपर्ला। मेरो बोयफ्रेन्ड थियो, हामी पहिलो सेमेस्टर देखि प्रेममा थियौँ। २ वर्षभन्दा बढि हामी सम्बन्धमा रह्यौँ, १ वर्ष अघि हामी छुटियौँ। छोड्न चाहिँ मैले छोडेको हो, उसका केहि बानीहरुले गर्दा। तर म सँग छुटिए लगत्तै उसले अर्की केटिसँग डेट गर्न थाल्यो, त्यो पनि मेरै मिल्ने साथी।" 

"अनि के भयो? तिमी उसलाई अझै  माया गर्छौ?" मैले सोधेँ।
"हेल नो ! मलाई नराम्रो किन लाग्छ भने ऊ मेरो साथीलाई माया गर्दैन, केवल मलाई देखाउन र चोट दिन भनेर मात्र यस्तो गर्दै छ। मैले आफ्नो साथीलाई सम्झाउन पनि सकिन, हाम्रो सम्बन्ध बारे उसलाई धेरै थाहा पनि थिएन, ढिलो चाँडो मेरो साथीको मन टोढ्ने हो उसले, मेरो साथी म सँग नजिकिन खोज्छे म भागीरहन्छु। त्यहि बेला यताको एक्सचेन्ज प्रोग्रामको बारेमा थाहा भयो अनि यता आएँ। कलेजको अन्तिम सेमेस्टर, सबै साथीहरु रमाइलो गर्दै छन्, म यहाँ एक्लै, म यहाँ हुनुको केहि अर्थ छैन।"

यति सुनी सकेपछि ऊ प्रति माया झन् बढ्यो। ऊ सिंगल छे भन्ने थाहा भयो र मन एक किसिमले खुसि पनि भयो, तर आफ्नै सोँच देखेर अफैसँग रिस पनि उठ्यो। ऊ जेलिएकी छे समस्याहरुमा, अनि म भने अवसर खोज्दै छु। 

"ओ हेल्लो मिस्टर, मेरो टोलाउने रोग सर्यो?" हात हल्लाउँदै झस्काई अन्जलीले। यति छिटो कसरी हाँस्न सकेकी ऊ, अघि सम्म रुन मात्र बाँकि थियो। त्यो सायद उसको मनको बोझ थियो, त्यो बोझ फुकाले पछि ऊ भिन्न मान्छे बनि, अघि सम्मको अन्जली र अहिलेको अन्जलीमा फरक थियो। कफी सकेर निस्किने बेला मैले उसलाई बेलुकाको खाना कतै सँगै खाने कि भनेर सोधेँ, भोलि शुक्रबार अबेर सम्म बाहिर बस्न मिल्छ बरु भोलि जाउँ भनि उसले।  हामी सधै हिड्ने बाटो हिड्यौँ, उसको होस्टलसम्म पुगेर म फर्किएँ। होटल पुगेर ल्यापटप खोल्दा उसको म्यासेज आएको रैछ "पेरिस त्यति बोरिङ्ग पनि छैन, एक जना नेपाली फोटोग्राफर भेटेकी छु।" मेरो अनुहारमा मुस्कान आयो। 

टुप्लुक्क ४ बजे आइपुगी, उसलाई देख्न साथ मेरो मुख चौडा खुला भयो।  आउन त आई तर सँगसँगै नौलो चमक लिएर आई। ग्यालेरीका सबै फोटोहरुलाई फिक्का पार्ने रंग बोकेर आई। अलि अलि लाज पनि बोकेर आई। कलेजी रंगको वान पिस गाउन लगाएकी थिई, ओँठमा उही रंगको गाढा लिपस्टिक, गाला लाज ले हो कि मेकअपले गर्दा हो थाहा भएन तर ती पनि  राता थिए, कपाल खुल्ला छोडेकी थिई, अलि अलि चिसै, एउटा सानो सेतो लेदरको ब्याग बोकेकी अनि देब्रे हातमा एउटा छाता।

डिनर पो बोलाएको त, डेटझैँ मान्यौ? मैले जिस्काईदिएँ।
"हो त!" उसलाई जवाफ फर्काउन धेरै बेर लागेन।
"यति सजिएर आउने भएको भए पहिले नै भन्दिन पर्थ्यो, म पनि सजिएर आउँथे, अरु धेरै  हैन, कोट सम्म लगाउँथे" मैले थपिदिएँ। 
"कोट त बरु खै, दौरा सुरवात चाहिँ गज्जब सुहाउँथ्यो" उसले जिस्काई मलाई।
"सँगै बस्ने साथीलाई डिनर गर्न बाहिर जाने भनेको थिएँ, उसले नै मेकअप गर्दी, म सँग त थिएन लिपस्टिक, फाउन्डेसन चाहिँ मेरै हो" उसले थपि।  

ठुलै पानी परि रहेको रहेछ, बिहान ग्यालरी छिरे पछि म बाहिर निस्किएको थिइन, पानी परेको थाहा पनि भएन। उसको छाता तल हामी दुई जना मुस्किलले अटायौँ, सायद अटिन्थ्यो होला तर ऊ सँग टाँसीएर हिँड्न अफ्ट्यारो लाग्यो। त्यहि एउटा छाता मुनि पनि म सकेसम्म नछोइन हरकदम कोशिस गरिरहेको थिएँ। पानीका छिटाहरुले मेरो शरिरको आधा भाग भिजाउन लागेको थियो। उसले देखिछे क्यारे, मलाई आफुतिर तानी मेरो हात भित्र हात छिराई। म उसलाई हेरीरहेको थिएँ, उसको ध्यान भने हिँड्नमा  थियो। त्यसरी कसैले मेरो हात समाएको थिएन, त्यति नजिक राखेको पनि थिएन। केहि महिना अघि ठमेलको एउटा घटना याद आयो। 

बेतोड तरिकाले पानी परिरहेको थियो, म हिमालय जाभाको बाहिरपट्टिको भागमा बसेर कफी पिउँदै थिएँ, एक जान जापानीज केटिले मेरा केहि फोटोहरु किन्छु भनेको हुनाले म उसलाई भेट्न त्यहाँ पुगेको थिएँ, ऊ जाममा आड्किएर आउन ढिलो गरि। म पारी पट्टि ओत लागेर बसीरहेका मान्छे अनि गुडीरहेका गाडीहरु हेर्दै थिएँ। यत्तिकैमा एउटा जोडी छातामुनि चप्किएर हिड्दै गए, छाताले त्यहाँ केहि काम गरेको थिएन, उनीहरु निथ्रुक्कै भिजेका थिए। म मन मनै सोँच्दै थिएँ, बरु कतै ओत लाग्नु नि, मलाई थाहा थिएन तर माया गर्ने मान्छेसँग त्यसरी एउटै छातामुनि  हिड्दा पनि रमाइलो हुने रैछ।  भर्खर मात्र बुझ्दै छु।     

खाना खाएर सक्ने बेलामा मैले उसलाई सोधेँ, "पेरिस आएर आइफल टावर चढ्ने केहि विचार छ कि त्यहि बाजेको क्याफेबाट हेरेर चित्त बुझ्छ?"
"भोलि बेलुका जाने?" उसले उत्साहित हुँदै सोधी। 
हामीले २-२ ग्लास रातो वाइन पिएका थियौँ, उसको गाला झन् रातो भएको थियो अनि आँखा रसिलो।
"भोलि भन्दा पनि बरु सोमबार जाने हो कि? प्रदर्शनी आइतबार सकिन्छ, मंगलबार म फर्किदै छु" मैले सोधेँ। 
उसले हुन्छ को भावमा टाउको हल्लाई। उसको अनुहार एक्कासी मनिलो भयो, मैले फर्किने कुरा गरेर हो कि सायद। 

त्यहाँ बाट बाहिर निस्किने बित्तकै उसले ब्यागबाट चप्पल निकाली, अघि सम्म लगाएको  हिलवाला स्यान्डल फूकाली अनि हातमा लिई, म अचम्म मानेर हेरीरहेको थिएँ। मेरो अनुहार हेरेरे हाँस्दै भनि "न आत्तिनु, स्यान्डल समाइदिन पर्दैन, त्यति रोमान्टिक पनि छैन के म। यो राति हिल लाएर पनि कोहि हिँड्न सक्छ।"

ग्यालरीका साथीहरु सँग म धेरै ठाउँ घुमीसकेको थिएँ तर आइफल टावर भने पुगेको थिँइन, अन्जलीसँग जानु मन थियो। अन्जली पनि लुभ्रे देखि नोट्रे दामे सम्म सबै ठाउँ घुमीसकेकी रैछे आइफल टावर मात्र बाँकी छ भन्दै थिई। मंगलबार बिहानै भेटेर हामी घुम्न निस्कियौँ, बेलुका घाम अस्ताउने बेलामा हतार हतार टावर चढ्यौं, अलि अलि फोटो खिच्यौँ। तल ओर्लिएर अगाडी खोला तरेर त्रोक्यादेरो स्क्वाएरसम्म  पुग्यौँ, त्यहाँबाट टावर गज्जबको देखिएको थियो। टावरमा भेटिएको गाइडले आइफल टावर रातमा हेर्ने हो भने अलेक्सजेंद्र ३ पुल सबैभन्दा राम्रो ठाउँ हुनसक्छ भनेको थियो, हामी लगभग आधा घण्टा जति हिँडेर त्यहाँ पुग्यौँ, बाटो भरि अन्जलीले मेरो हात समाईरही। त्यहाँबाट देखिएको दृश्य अतिनै राम्रो थियो। त्यो पुल प्रेम जोडीको अड्डा नै रहेछ, हुन त पेरिस सहरनै प्रेमीहरुको। 

एकैछिन पछि बसमा चढेर हामी उसको होस्टल भएको स्टेसनमा ओर्लियौँ अनि फेरि हिँड्न सुरु गर्यौँ। ऊ अझै पनि मेरो हात समाईरहेकी थिई। 
"आज यता बाट जाउँ है?" नया बाटो देखाउँदै भनि।  
पक्कै पनि त्यो लामो बाटो थियो, सधै होस्टल जान ढिलो हुन्छ भन्थी, आज भने उसलाई ढिलो भएको थिएन। हामी र उसको होस्टल बीचको दुरी घट्दो थियो, घट्दो दुरी सँगै उसले मेरो हात समाउन लगाईरहेको बल बढ्दो थियो। हामी उसको होस्टल अगाडी रोकियौँ, के भनु के नभनु म अक्मकिएको थिएँ उसलाई पनि सायद त्यस्तै भएको थियो। हामी एकअर्कालाई हेरिरहेका थियौँ। 
"राम्ररी बस, धेरै टोलाउने नगर अनि त्यो क्याफेको बाजेलाई मेरो सम्झना सुनाइदेउ" जिस्किनुनै ठिक लाग्यो, ऊ पत्थर भएकी थिई, फोड्नु थियो।  
"हस हजुर पनि!" यत्ति मात्र बोलि ऊ। 
"बाइ", म फर्किएँ! उसले हात च्याप्प समाएर रोकी। म ऊ तिरै फर्किएँ। बेस्सरी अँगालो हाली। एकैछिनमा मेरो अनुहार तिर हेरि, अझ नजिक आइ अनि आँखा बन्द गरि, मैले बुझेँ , म पनि नजिकिएँ, मेरो पहिलो चुम्बन।  

सुनसान गल्लि, खम्बामा बलिरहेका बत्ति, हामी दुई अनि हाम्रो छायाँ मात्र।  तर पर कतै आइफल टावर चम्किरहेको थियो।  

होटल फर्किएर ल्यापटप खोलेँ, उसले दिउस खिचेको हामी दुई जनाको फोटो इन्स्टाग्राममा राखेकी रैछ, फोटो संगै लेखिएको थियो "आइ फाउन्ड लभ इन होपलेस प्लेस।" मुस्कुराउँदै पढेँ। सरोजको म्यासेज आएको रैछ, किस गरिस भनेर सोध्दै थियो, पढेर एकछिन हाँसो उठ्यो। 
"भाउजु भन साले" जवाफ फर्काइदिएँ।

नेपाल फर्किएको केहि दिन पछि हुलाकबाट फोन आयो पार्सल आएको छ, लिन आउनु भन्दै। लिएर घर आएर खोलेँ, भित्र एउटा फ्रेममा त्यहि उसले बनाईरहेको स्केच थियो त्यसमा अब म पनि थिएँ, मेरो क्यामरा थियो, कफीको कप थियो अनि पर आइफल टावर थियो। सँगै नोट थियो जसमा लेखिएको थियो "आई मिस यु पन्जल, सी यु सुन।" 






  
(तीन वर्ष लाग्यो यति लेख्न, साह्रै अल्छि भैएछ, आशा छ मनपर्ने छ सबैलाई।  पढेर कमेन्ट गरिदिनु होला, अझ फेसबुक/ टुइटर तिर साथीहरुसँग सेयर गर्दिए झन् गज्जब। कभर फोटोको लागि धोजेलाई धेरै धेरै धन्यबाद र साथै साथी रुप्सालाई पनि धेरै धन्यबाद प्रान्जल र अन्जलीको चित्र बनाइदिएकोमा। गल्ति थुप्रै छन, सच्चाउँदै जानेछु। कथा काल्पनि हो। #pariskokatha

0 Comentarios