चिया पसल


म दिनदिनै जान थालेको थिएँ  त्यो चिया पसलमा, हुन त म चिया पारखी पनि होइन सायद ती दुइ बिचको प्रेमले तानेको हुन पर्छ।  राजनीतिको गफ, दलाली गर्ने देखि लिएर एक कप चिया र एउटा चुरोटको भरमा घण्टौ बिताउने मान्छे भेटिन्थे त्यहाँ। उनीहरु एक कप चिया पिउथे, एउटा सुर्य चुरोट , पसल्नी दिदीलाइ २० रुपैया दिन्थे अनि फिर्ता आउंथ्यो त २ ओटा हल्स। पसल्नी दिदीको कला नै छुट्टै थियो, उनले दिउरिबाट सिसाको ग्लासमा चिया खनाउने तरिका पन्जाबी ढावामा सरदारले लस्सी खनाए जस्तै हुन्थ्यो। 
..................................................................................

एकदिन पसल सुनसान हुँदा ती दिदीसंग धेरै बेर कुरा भयो, भन्दै थिइन श्रीमानले छोडेर अर्कै लिएर गए, गाउँ फर्किन मनले मानेन अनि यतै पसल खोलेँ, माइतिहरुको गाउँमा प्रसस्तै जग्गा  छ, यतै फर्की भन्छन। उनि थप्दै थिइन, "माइत जान मनले मान्दैन।"
..................................................................................

साँझ परे पछि जँड्याहा भट्टी छिरे जस्तै म बिहानको १० देखि १०:३० बजे सम्ममा त्यो चिया पसलमा  पुगी सक्थे। म कसरि त्यो चिया पसलमा पुगे त्यो सन्दर्भ पनि अचम्मको छ। मलाइ छिटै  बोलाएर आफु भने सधै ढिलो आउने एक जना साथीलाइ भेट्न म त्यो दिन पनि छिटै पुगेको थिएँ प्रदशनी मार्गमा। बिहान आफैले मलाइ फोन गरेर १०:३० मा प्रदशनी मार्ग पुग्न भनेको थियो उसले। उ आउने सुरसार नदेखेर म भृकुटीमण्डप भित्र लस्करै खडा गरिएका चियापसल तिर लागेँ, म पहिलो पल्ट त्यस चिया पसलमा पुगे र पहिलो पल्ट उनीहरुलाइ त्यहिं देखें। 

पहिलो दिन जब उनीहरुलाइ देखें त्यो रात घर फर्किएर धेरै बेर उनीहरुको बारेमा सोचीरहेँ, हरेक दिन कयौं अपरिचित मान्छे भेटिन्छन, उनीहरु आउछन अनि जान्छन, आउनु र जानु बाहेक  केहि हुदैन, अपरिचित बनेर आउछन अनि उसै गरि जान्छन। तर यी दुइमा केहि थियो, कोहि थियो, सायद म थिएँ, उनी थिइन अनि उनको र मेरो सम्बन्धको बिम्ब थियो। 


उनीहरुको उमेर यस्तै १६-१७ हुँदो हो, उनीहरु भेट्ने समय ११ बजे तिरको हुन्थ्यो। उनीहरु कलेज सकेर भेट्थे या जानु अघि मैले ठम्याउन सकिन। काठमाडौँको कुनै नाम चलेको कलेजमा पढ्थे दुवै जना।  सुरुका केहि दिनहरुमा उनीहरु बीचको सम्बन्ध छुट्याउन साह्रै गाह्रो  पर्यो मलाइ, उनीहरु साथी मात्रै थिए या प्रेमी पनि। 

केहि असहजता, कसैले देख्छ कि भन्ने डर, खुलेर बोल्न नमिल्ने त्यो माहोल तर सबैभन्दा माथि उनीहरु बिचको प्रेम। त्यो प्रेम निश्चल लग्यो मलाइ। 

आफुले माया गर्ने मान्छे गुमाएको पिंडा अनि उ संग संगै हुने चाहनाले मन पोली रहेको थियो त्यहि भएर पनि होला सुरुमा ती दुइबिचको प्रेमले त्यो आगोमा घिउ थप्ने काम गर्यो। तर यथार्थ भन्न पर्दा ती दुइबिचको प्रेमको प्रेमी भएको थिए म, त्यो प्रेम मेरो लागि खुराक भएको थियो। चलचित्रका पात्रहरु बिचको प्रेम घण्टौ सम्म लट्ठिएर हेरे जस्तै त्यो जोडीलाइ म घण्टौ सम्म हेर्न सक्थे। 
..................................................................................

दिनहरु त्यै चिया पसलमा बित्न थाले। कहिले २ कप कहिले ५ सम्म पुग्थ्यो। एकदिन पसल्नी दिदीले भनिन् हेर्दा नेवारझैं देखिनु हुन्छ तर चिया पिएको देख्दा हजुर बाहुन  पो हो कि जस्तो  लाग्छ, मेरो जवाफ थियो "म बाहुननै हुँ।" पसल्नी दिदी संग त कुरा हुन्थ्यो नै त्यस बाहेक अरु एकदुइ जना संग चिनजान भएको थियो, धेरै कुरा  भने हुदैनथ्यो त्यै सन्चो बिसन्चो मात्र, त्यो पनि धेरै जसो इशारामा, म उनीहरु संग गफ मार्न त्यहाँ पुगेको हो र?

पुष माघको जाडोमा, त्यो  केटा चिसो  हात लिएर चिया पसलसम्म आइपुग्थ्यो। केटि ती हात समाउथि अनि केहि बेर  रिसाउथि, फेरी एकैछिनमा ऋतु बिपरित मैनझैँ पग्लन्थि। उसका दुवै हात आफ्ना हात बिच राखेर न्यानो पारिदिन्थि ।केटालाइ त्यस्तो गरेको साह्रै मन पर्थ्यो क्यारे, त्यै भएर पनि होला उसका हात सधै चिसा हुन्थे न्यानोपनको आशमा। एउटा सिंगो ऋतु सकेर अर्को ऋतु सुरु हुन लागेको थियो, माया-प्रेममा ऋतुले त केवल समय बुझाउने हो रे, चिसोमा पनि न्यानोपन देख्ने माया, कठोरलाइ पनि पगाल्ने त्यो माया। 
..................................................................................

म के गर्दै छु त्यो म आफैलाइ थाहा थिएन, तर जे गरिरहेको थिएँ त्यसले मनमा एउटा सन्तोष दिएको थियो,  यस्तो सन्तोष जुन म केवल उसको वरिपरि पाउथें।
.................................................................................. 


माघको अन्तिम हफ्ता थियो क्यारे, चिया पसल पुग्नै लागेको थिएँ, आँखा अघिको दृश्य देखेर मुखबाट फुत्कि हाल्यो "आज घाम पश्चिम बाट उदाएछ"। सधै ढिलो आइपुग्ने त्यो केटा आज भने केटि आउनु अघिनै आइपुगेछ। म चिया पसल भित्र छिरें, सधै जसो बस्ने मेचमा बसे अनि इशारामा २-३ जनासंग सन्चो बिसन्चो साटासाट गरें। एकछिनमा केटि पनि आइ, आज भने भिन्न किसिमको लज्जा अनि मौनता थियो, उनीहरुको मनमा के चलिरहेको थियो त्यो मलाई पत्तो भएन तर म यता उकुसमुकुस परि सकेको थिएँ। एकै छिनको मौनता पछि केटाले ब्यागबाट रंगी-बिरंगी प्लास्टिकमा बेरिएको केहि बस्तु केटि तिर बढायो, धेरै बेरको मेरो अध्यारो दिमागमा केहि उज्ज्यालो पस्यो, आज केटिको जन्मदिन रहेछ, तर एकै छिनमा केटिले पनि आफ्नो ब्यागबाट त्यस्तै रंगी-बिरंगी बस्तु केटा तर्फ बढाइ, दिमागमा फेरी उस्तै अँध्यारो छायो, घडि हेरें समय थियो १०:३८ अनि  मिति १४ फेब्रुअरी ।  उनीहरुको सायद पहिलो भ्यालेण्टाइन थियो।

दिनहरु यसरि नै बित्न थाले, पहिले म पुग्थेँ, केटि आउथि अनि धेरै बेर पछि केटो पुग्थ्यो। फाल्गुन सकेर चैत चल्दै थियो, चैतको दोश्रो हफ्ता थियो क्यारे, सधैझैँ म पुगी सकेको थिएँ, धेरै बेर सम्म कुरी सक्दा पनि उनीहरु दुइ मध्य कोहि पनि आएनन,  त्यहाँ समय घडीको सुइले नभइ चियाको कपले नापिन्थ्यो। चिया ५ कप पुगीसकेको थियो। उनीहरु नआएको यो घटना नौलो थिएन, त्यस अघि पनि धेरै पटक उनीहरु नआएकाले म मुर्मुरिदै घर फर्केको थिएँ। चिन्ता त तब लग्यो जब उनीहरु त्यस पछि १०-१५ दिन सम्म देखा परेनन्। चिया पसलमा सधै देखिने एक जोडी गायब थियो, सबैको नजरमा त्यो एउटा सामान्य कुरा थियो अझ कतिले त त्यो याद पनि गरेका थिएनन् होला, पसल्नी दिदीलाइ समेत त्यो कुराले खासै फरक परेको जस्तो लागेन मलाइ  तर मेरा लागि त्यो जोडी बिशेष थियो र उनीहरु त्यहाँ नआउनुले मलाइ सताइरहेको थियो। समुन्द्रको तहमा रहेका संखे किरालाइ छालले बगाएर तटमा छोडिदिन्छ त्यस्तै समयले मलाइ सपनाबाट बगाएर नमीठो यथार्थमा छोडी दियो। 


यो यस्तो व्यथा थियो जो कसैलाई सुनाउन पनि मिल्दैनथ्यो, सायद सुन्ने जति मलाइ  पागल भन्ने थिए। उनीहरु कता पढ्छन भन्ने मलाइ थाहा थियो, म त्यो कलेजको चक्कर लगाउन चाहन्थे, चिनजानका मान्छे संग सोधपुछ गर्न पनि चाहन्थे, उनीहरुको सम्बन्ध बिच्छेद भयो या फेरी केहि कारणले गर्दा भेटघाट पातलिएको पो हो, सबै जान्नु थियो मलाइ तर मनको अर्को पाटोले त्यसो गर्न दिएन, त्यै पाटो जो महिनौ देखि चुपचाप थियो, म बौलाएको हेर्दै थियो र सायद उसलाइ थाहा पनि थियो म सजिलै रोकिने वाला छैन भनेर, उसलाइ थाहा थियो होला म होसमा आउन एकचोटी लड्नै पर्छ भन्ने। म सायद आफै पनि सत्य बुझ्न तयार थिएन, सत्यको दुइ पाटो हुन्छ, हामीले चाहेको अनि अर्को त्यसको बिपरित। सत्य मैले चाहेको भन्दा बिपरित भयो भने मैले के गर्ने? म बिच्छेद भएको सम्बन्ध देख्न चाहदैनथे, एउटाले पुगी सकेको थियो मलाइ। 


हरेक दिन हामी प्रियजनहरु भेट्छौं अनि छुटिन्छौं तर कहिले काहिँ कसै संगको त्यो  छुटाइ अन्तिम हुँदो रहेछ, त्यो कुरा महसुश हुन धेरै लामो समय लाग्छ। सायद अन्तिम भेट भन्ने थाहा हुँदो हो त एकैछिन हात समाएर त्यो अनुहारमा एकोहोरो हेरिन्थ्यो होला, आँसु बग्थे होला, त्यो हात आफ्नो हात बाट छुटाउँदा हात थरथर काप्थ्यो पनि होला। जे भए पनि त्यो अन्तिम समय सार्है अफ्टेरो हुने थियो, सायद त्यहि भएर पनि होला समयले त्यो अन्तिम भेटको असहजता कम गर्न सत्य माथि पर्दा लगाइदिएको। 
..................................................................................

त्यसपछि पनि म धेरै दिनसम्म चिया पसल गइरहेँ तर जाने आउने क्रम भने पातलिएको थियो, सुरुसुरुमा एक-दुइ दिन बिराएर जाने थालें, त्यसपछि हफ्ता अनि महिना। पसल्नी दिदीले सोधीरहन्थिन अनि म झुठा जवाफ दिने गर्थें, उनि पत्ताउथिन।  म सधै बस्ने गरेको मेचमा बस्थेँ, जो संग पहिले इशारामा सन्चो बिसन्चो साटासाट हुन्थ्यो अचेल उनीहरु संग शब्द पनि साट्ने गरेको थिएँ। बाटोमा हिड्दा कलेज पढ्ने थुप्रै जोडीहरु भेटिन्थे म एकपटक फर्किएर हेर्ने गर्थें। उनीहरुलाइ देखिहाले पनि बोल्न हामी बिच कुनै सम्बन्ध थिएन। बिस्तारै सबैकुरा सामान्य हुदै गयो, कहिले काहिँ  उनीहरुको सम्झना आउँदा म प्राथना गर्ने गर्छु, उनीहरु जहाँ पनि हुन् खुसि हुन्। 

कति शंखहरु समुन्द्रको गहिराइमा भन्दा पनि पहिरनका गहना, सजावट र धर्मका सामग्री अनि जुवाको खालमा कौडा बनेकै राम्रो हुन्छ, त्यसका लागी उनीहरु तटसम्म पुग्नै पर्छ। दिदीले चिया पसल पनि बेचीछन् , साहु नयाँ, पसलको नाम नयाँ तर पनि म बस्ने मेच त्यहिँ छ, उस्तै छ, पुरानै।  




 ( सर्वप्रथम तस्विरका लागि भाइ अर्पनलाइ धेरै धेरै धन्यबाद, एक वर्ष अघि लेख्न सुरु गरेको यो ब्लग लामो समयसम्म ड्राफ्टमा रह्यो, लेख्न प्रेरणा दिने सबै प्रति आभारी छु। ह्रश्व-दीर्घ गलती धेरै छन, सहेर पढिदिनुहोला। के कस्तो लाग्छ कमेन्ट गर्दिनुहोला,अझ लेख्ने उर्जा मिल्छ। #chiyapasal )

1 Comentarios

  1. When you need light-weight steel with a good tolerance, aluminum elements are ideal. Ramps utilized in business, residential and recreational facilities usually make the most of stamped aluminum elements. It's also good for wheelchairs, walkers and different mobility merchandise. Lightweight and aesthetically Direct CNC pleasing, aluminum elements are the best product so much of} furniture purposes.

    ReplyDelete