ट्रान्जिट


भर्खर भर्खर जुँगाको रेखा बसेका केटाहरु उभिरहेका थिए म उभिरहेको भन्दा पल्लो लाइनमा, पक्कै पनि खाडी तिर लागेको हुनु पर्छ उनिहरु, खाडी नै हो किनभने सबैले म्यानपावरले दिएको एउटै रंगको टोपी लगाएका थिए।  विदेश जानेको लाइन, आफैमा जेलिएको धागो जस्तो, गोंगबु बसपार्क भन्दा के कम थियो र त्यो भिड।  



म  भन्दा अघि एक जना लामिछाने थर भएका युवक थिए, उनको पहिलो विदेश यात्रा रैछ अनि साथमा पेन पनि नभएकाले उनको अध्यागमन फर्म मैले नै भर्दिएको थिएँ। पछि उनि सिंगापुरमा पनि भेटिए, संगै एक कफी पनि पिइयो। स्टारबक्समा अमेरिकानोको पहिलो चुस्की लिन कप के मुख तिर बढाएको थिएँ उनले भनि हाले "भाइलाइ देश छोडेर विदेशीन लागेकोमा केहि चिन्ता नै छैन जस्तो लाग्यो, आफूलाइ त कस्तो भइसक्यो, कसरि बस्ने होला त्यतिका वर्ष।" उनको त्यो एक वाक्य अनि मेरो मन भित्र कम्पन नै आयो, मलाइ याद आयो त केवल बिहान घरबाट हिड्न अघि मैले पुछेको तस्विर, मैले सधै पूजेको तस्विर। कप टेबलमा राख्दै भनें "यस्तै हो दाइ म, डुली हिड्ने मान्छे, फिरन्ते।"


त्यो फोटो त्यहिँ थियो, महिनौ देखि। ढोका खोलेर कोठा भित्र पस्दा नजर पहिलै त्यो फोटोमा जान्थ्यो, राति अबेर सम्म निद्रा नलागेर छटपटिदा जब-जब म देव्रे तिर कोल्टो पर्थे तब-तब त्यो फोटो आँखा अगाडी नै हुन्थ्यो। मेरो कोठाको एक कुनामा त्यो तस्बिर हजारौँ भवना बोकेर बसेको थियो, मैले त केवल त्यो कागज मात्र फ्रेम गरेको हुँ, त्यो पलको प्रतिनिधित्व गर्ने एउटा चिनो मात्र।  त्यसले बोकेका रंग अनि ति रंगले दिने सम्झना हरपल तैरिरहेका हुन्थे फ्रेम बाहिर।
बिहान घर बाट हिड्नु अघि त्यो फोटो हातमा लिएँ, धुलो लागेको रैछ पुछ्ने कपडा कतै देखिन, लागाइरहेको टि-सर्टले नै धुलो पुछे। फोटोलाइ दराजमा राखेर एकछिन यता उता गरेँ, मनले के मान्थ्यो र, दराज खोलेर त्यो फोटो फेरी हातमा लिए अनि उ संग बोले, भनेँ, म छिटै आउँछु यसरि थुनेर जान मनले मान्दैन। 

लामो हवाइजहाज यात्रा पनि उराठलाग्दा हुन्छन, निद्राले प्राय सौता जस्तो व्यवहार गर्ने भएकाले समय कि त फिल्म, कि त किताब कि त झ्यालको सिसादेखि बाहिर हेर्दा बित्ने गर्छ, यो राति पनि केहि देखिन्छ र? अगाडी पछाडी हेर्छु, पर कुनाको एउटा सिटमा मात्र बत्ति बलेको छ, जहाज भित्रको माहोल सुनसान छ। कफी पिउन मन हुँदाहुदै पनि एयर होस्टेसलाइ बोलाउन मन भएन, आराम गर्दै होलान, थाकेका होलान। आज जहाजमा धेरै नै बच्चा बच्चीहरु छन्, सबैलाइ फकाउदा फुलाउदा नै उनिहरु थकिसकेका थिए।  एक्लै छटपटाइ रहँदा मैले नजर सिसा देखि बाहिर लगे, मैले जे देखे त्यो अद्भुत थियो वा मलाइ मात्र लागको हो।
   
३१ जनवरी २०१३ 
माथि कतै,
एअर बस ए ३८० कता अनि कति माथि उढि रहेको छ मलाइ थाहा छैन, सरिरमा क्याफिनको मात्रा कम छ, तर निद्रा भने लागेको होइन।  झ्यालको सिसा देखि बाहिर हेर्न खोज्दा मैले एउटा अचम्मको दृश्य देखे, मैले जे देखे म धेरै बेर त्यसैमा टोलाइ रहे। आकाश भरि तारा चम्किरहेका छन्, त्यो नौलो होइन  तर जब तल हेरे त्यता पनि दृश्य उस्तै छ, जमिनमा कता बाट तारा? कि त ति समान बोकेर बन्दरगाह तिर बढेका पानी जहाजको बत्ति हुन पर्छ , कि त कुनै देशको पातलो बस्ति। जे सुकै भए पनि अहिले आकाश र जमिनमा केहि अन्तर देख्दिन  म ।  म कतै धेरै टाढा बसेर यो असिम दुनियाको सुन्दरता अवलोकन गर्दै छु झैँ लाग्छ, तर म  यहीं छु, आकाशको तारा र जमिनको बत्ति बिच, तारा भन्दा पनि म बत्ति देखि नजिक छु, त्यहि बत्ति जो संग आजकल मलाइ डर लाग्न थालेको छ। 
कवि भएको भए म कविता लेख्थें होला, फोटोग्राफर भएको भए त्यो दृश्य कैद गर्दो हुँ , म संग केवल एउटा कागज छ अनि एउटा पेन, अनि म अस्पष्ट रेखाहरु कोर्दै छु। लेख्न त लेखि रहेको छु तर तिम्रो लागि, एकदिन तिमीलाइ सुनाउन जो छ , होइन भने अरु को पढ्छ र यी फिक्का शब्दहरु । 

0 Comentarios